पोखरा ।
नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य एवं नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका सभापति नारायण प्रसाद वरालको निधनप्रति नेपाली कांग्रेस कास्कीले गहिरो दुख व्यक्त गरेको छ ।
पोखरा महानगरपालिका वडा नं.१३, आर्वा निवासी बरालको ४८ वर्षको उमेरमा हिजो(जेष्ठ २) गते काठमाण्डौको हेम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बरालको निधनले नेपाली काँग्रेस, कास्की स्तव्ध भएको र उनको निधनले संगठनमा क्षति पुगेको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वि.सं. २०३१ पौष १४ गते, पिता दशरथ वराल र माता सेतुमाया वरालको जेष्ठ सुपुत्रका रुपमा जन्मिएका बराल नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी जीवनदेखि नै क्रियाशिल थिए ।
प्रजातन्त्रको स्थापना पुर्नस्थापनाका हरेक आन्दोलनहरु र कार्यक्रमहरुमा सदैव अग्रपंक्तिमा रहने वराल सिद्धान्तप्रति निष्ठावान कर्मशील, अत्यन्त सरल र प्रष्टवादी रहेको विज्ञप्तिमा उल्लेख छ । उनको २ श्रीमती, १ छोरा र २ छोरीहरु छन् ।
यस्तै बराल विगत १५ वर्षदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा स्वास्थ्यकर्मीका रुपमा सेवारत रहेका थिए ।
बरालको पार्थिव शरीरमा आज नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरु वराल, नेपाली काँग्रेस, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वराल र गण्डकी प्रदेशका महामन्त्री विष्णु प्रसाद लामिछानेले पार्टीको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । बरालको आजै पोखरा रामघाटमा अन्त्येष्टी भएको छ ।














