पोखरा ।
गण्डकी प्रदेशमा २५ बैशाखमा सुरु ट्राफिक सप्ताह ३१ बैशाखमा समापन भएको छ । ११ वटै जिल्लामा भएको ट्राफिक सप्ताहमा लाखौंको सहभागिता भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा आयोजित ट्राफिक स्पताह २०८० समिक्षा तथा समापन समारोहमा उनले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार ट्राफिक सप्ताहको प्ररम्भ अर्थात प्रभातफेरी कार्यक्रम नै प्रदेशका ११ जिल्लामा गरेर झण्डै २ लाख जनाको सहभागीता थियो । ट्राफिक सप्ताह अबधिमा २९ स्थानमा सवारीको मेकानिकल चेकिङ, ३१ स्थानमा चालक सहचालकको स्वास्थ्य चेकाजाँच, १९४ वटा लघु सचेतना कार्यक्रम , ४६२ स्थानमा ट्राफिक नियम सम्बन्धि कक्षा सञ्चालन, ६२० स्थानमा सवारीमा आरक्षण सिट रहे नरहेको अनुगमन, १४६ स्थानमा तिव्र गति र ओभरटेक चेकिङ, १४८ स्थानमा भाडादर अनुगमन, १३१ ग्रामिण सडक लक्षित चेकिङ, १९६ वटा रुटमा ट्राफिक नियम सम्बन्धी माईकिङ, १३२ स्थानमा हेल्मेट र सिटबेल्ट चेकिङ, लगभग २०,००० ट्राफिक सचेतनामुलक पर्चा बितरण र ५ जिल्लामा रक्तदान कार्यक्रम गरिएको उनले जानकारी दिए ।
सञ्चार माध्यममा भने ट्राफिक सचेतनाको विषयले प्राथमिकता नपाएको उनले गुनासो गरेका छन् । ‘हाम्रो कार्यक्रममा सरोकारवालाको व्यापक सहभागिता भयो । यसले ट्राफिक सचेतना र दुर्घटना न्युनिकरणमा व्यापक रुपमा प्रभाव पार्नेमा हामी विस्वस्त छौं तर यसको सञ्चार माध्यममा भने खासै चर्चा भएको पाएनौं’ उनले भने ।
समिक्षा कार्यक्रममा यातायात व्यवस्था कार्यालय (सवार)का प्रमुख डिल्लीराम रिज्यालले गण्डकी प्रदेशमा सम्पन्न ट्राफिक सप्ताहले सवारी दुर्घटनामा कमी ल्याउने विश्वास प्रकट गरे । उनले तीन वटा सरकारको समन्वय अभावका कारण यातायात व्यवस्थापनको विषय पनि पेचिलो बनेको धारणा राखे । पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति गर्नेदेखि लिएर स्पष्ट ऐन कानुनको अभावमा अहिले यातायात क्षेत्र अन्योलको अवस्थामा रहेको उनले सुनाए ।
नागरिक अभियान्ता रामबहादुर पौडेलले ट्राफिक सप्ताहमा जस्तै अरु बेलामा पनि ट्राफिक सचेतनाका कार्यक्रमले निरन्तरता पाउनुपर्ने धारणा राखे । सडक सबै प्रयोगकर्ताको रहेको भन्दै सबैले आत्मसम्मानका ट्राफिक नियमको पालना गर्दै सडकमा आवागमन गर्न पाउनुपर्ने धारणा राखे । नागरिक समाज सधैं नागरिकको हित हुने काममा साथ रहने चर्चा गर्दै उनले ट्राफिक दुर्घटना न्युनिकरण अभियानमा आफूहरु साथमै रहेको बताए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष कृष्ण प्रसाद ढुंगानाले ट्राफिक सप्ताह लगायतका अभियानको परिणाम तत्काल नभई दीर्घकालमा देखिने बताए । यस्ता अभियानमा यातायात व्यवसायीको सधैं साथ रहने भन्दै कार्यक्रममा सहभागीता व्यापक भएपनि रिजल्ट कस्तो आउँछ भनेर हेरिनुपर्ने धारणा राखे ।
समिक्षा कार्यक्रममा यातायात सम्बद्ध विभिन्न श्रमिक संगठनका नेताहरुको सभागिता थियो । उनीहरुले ट्राफिक सप्ताहमा आ–आफ्नो तर्फबाट सक्दो सहभागिता जनाएको र जनचेतना फैलाउने काम गरेको बताए । चालक, सहचालक लगायत यातायात क्षेत्रका मजदुरले भोग्नु परेको सास्ती र उनीहरुलाई गरिनुपर्ने व्यवहारको बारेमा समेत सहभागि यातायात सम्बद्ध मजदुर नेताहरुले बताएका थिए ।
ट्रफिक सप्ताह कार्यक्रम तत्कालिन गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाको सहकार्यमा सञ्चालन भएको हो । समिक्षा कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीका उपसचिव सुरण प्रसाद शर्मा पौडेलको अध्यक्षतामा भएको हो भने, उक्त समिक्षा कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।












