पोखरा ।
वैशाख २५ गतेदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय ट्राफिक सप्ताह हिजो (वैशाख ३१) गते सम्पन्न भएको छ । ट्राफिक सचेतना फैलाउने र दुर्घटना न्युनिकरण गर्ने उद्येश्यले आयोजना गरिएको ट्राफिक सप्ताह फलदायी बनेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाको सहकार्यमा सञ्चालन भएको उक्त सप्ताहमा ट्राफिक सचेतना फैलाउने साथै सडक र सवारी प्रयोगकर्ताले पालना गर्नु पर्ने नियमका विषयमा विविध कार्यक्रमहरु गरिएको थियो ।
गण्डकी प्रदेशभर प्रभावकारी रुपमा सञ्चालन गरिएको ट्राफिक सप्ताहको उद्घाटन ११ वटै जिल्लामा प्रभातफेरिबाट भएको थियो । प्रभातफेरीमा बिभिन्न सरोकारवाला निकाय, बिद्यार्थी, नागरिक समाज संघ संस्थाको उपस्थिती रहेको थियो । प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेशभरी २ लाख जना सहभागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसका साथै ट्राफिक सप्ताहकै अवसरमा गण्डकी प्रदेशभर २९ स्थानमा सवारीको मेकानिकल चेकिङ,३१ स्थानमा चालक सहचालकको स्वास्थ्य चेकाजाँच, १९४ वटा लघू सचेतना कार्यक्रम , ४६२ स्थानमा ट्राफिक नियम सम्बन्धि कक्षा सञ्चालन, ६ २० स्थानमा सवारीमा आरक्षण सिट रहे नरहेको अनुगमन, १४६ स्थानमा तिव्र गति र ओभरटेक चेकिङ, १४८ स्थानमा भाडादर अनुगमन, १३१ ग्रामिण सडक लक्षित चेकिङ, १९६ वटा रुटमा ट्राफिक नियम सम्बन्धी माईकिङ, १३२ स्थानमा हेल्मेट र सिटबेल्ट चेकिङ, लगभग २०, ००० ट्राफिक सचेतनामुलक पर्चा बितरण, ५ जिल्लामा रक्तदान कार्यक्रम गरिएको छ ।
सप्ताहको अन्तीम दिन हिजो ट्राफिक नियम र व्यवस्थापन सम्बन्धि सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको थियो भने साँझ दिप प्रज्वलन गरी सप्ताह समापन भएको हो।













