कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी हुने क्रम चलिरहेको छ ।

यसैबीच नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएको छ । शेर्पालाई प्रहरीले खोजिरहेको छ । सोही क्रममा शनिवार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो ।

२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् ।

आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका हुन् । भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको थाहा भएको छ ।

  • ३१ बैशाख २०८०, आईतवार १०:२५ प्रकाशित