पोखरा ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । सत्ता गठबन्धनमा कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति जुटेपछि शुक्रबार मुख्यमन्त्री पाण्डेले सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् ।
माओवादीले संसदीय दलको बैठक राखेर मन्त्रीको टुन्गो समेत लगाइसकेको छ । बिहीबार दलको बैठकले यसअघि विना विभागीय मन्त्री भएकी सुशीला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको छ । तत्कालीन मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा उद्योग पर्यटन तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका रेशमबहादुर जुग्जालीलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
कांग्रेसले भने मन्त्री हुनेको नाम सार्वजनिक गरेको छैन । यसअघि कांग्रेसबाट विना विभागीय मन्त्री सरस्वती अर्याल तिवारी मन्त्री बनेकी छन् । कांग्रेसमा मन्त्री बन्न आकांक्षा राख्ने धेरै छन् ।
लमजुङका डा. टकराज गुरुङ, नवलपुरका जिसी, कास्कीका विन्दुकुमार थापा, कास्कीकै प्रकाश बराल, बागलुङका जीत शेरचन, कास्कीकी सरस्वती गुरुङ, पर्वतकी रेखा गुरुङ र बागलुङका डिल्लीराम सुवेदी, महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर मन्त्री बन्ने दौडमा हुन् ।
नेकपा एकिकृत समाजवादीका राजिव गुरुङ (दिपक मनाङे) पनि मन्त्रि नियुक्त हुने सम्भावना रहेको स्रोतले बतायो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयका कार्यक्षेत्र मिलान गरेको छ । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभेको छ ।
आर्थिक मामिला, उद्योग पर्यटन वन तथा वातावरण, सामजिक विकास तथा स्वास्थ्य र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई भने यथावत राखेको छ । कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर दुइटा मन्त्रालयले बनाइएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय र ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय बनाएको छ ।
एक जनामात्र सांसद रहेको नेकपा एकीकृत समाजवादीका मनाङ लाई पनि मन्त्री बनाउने लगभग निश्चित छ । केन्द्रको दबाबपछि पाण्डेले मनाङेलाई मन्त्री बनाउने तयारी गरेका हुन् ।













