काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै लामिछानलेले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध आफुहरु सडकमा उत्रिने जानकारी गराएका थिए ।
‘भ्रष्टाचारका विषयमा जसरी फाइल खोल्नु भएको छ । त्यसमा तपाईँलाई धन्यवाद छ’, लामिछानले रविलाई भेटका क्रममा भने, ‘मैले सडकबाट के के सहयोग गर्न सकिन्छ, सबै सहयोग गर्छु । हामी अब भ्रष्टाचारीविरुद्ध सडकमा उत्रिन्छौँ ।’
विभिन्न कारणले पार्टी सरकारमा सहभागी हुन नसकेपछि सरकारको राम्रो कामलाई पार्टीले सहयोग गर्ने रविको भनाइ थियो ।सो अवसरमा प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा रविको सहयोगको अपेक्षा गरेका थिए । प्रचण्डले सकभर सरकारमा सहभागी हुन अपेक्षा राखेको बताइएको छ।













