काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आगामी ४ गते संसदमा बोल्ने बताएका छन् । ओलीले आज पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै संसदमा तथ्य(प्रमाणसहित बोल्ने बताएका हुन् ।
ओलीले भनेका छन् ,‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु, ।
ओलीले आफू गृहमन्त्री भएका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भुटानी शरणार्थीको तेस्रो राष्ट्रमा पुनस्स्थापनाबारे पहिलोपटक सल्लाह गरेको बताए । त्यसबेला बिरामी अवस्थामा रहेका कोइरालाको स्वीकृतिमा आफूले यो विषय अगाडि बढाएको उनको भनाई छ ।
त्यसपछि न्यूयोर्कमा आयोजित अमेरिकी राष्ट्रपतिले दिएको रिसेप्सनमा भुटानी शरणार्थीको सेटलमेन्टबारे पहिलोपटक प्रस्ताव राखेको ओलीले जानकारी दिए । ओलीले २००८ देखि भुटानी शरणार्थीको सेटलमेन्ट सुरु भएको र २०१२ देखि यसमा विभिन्न गिरोह सक्रिय रहेको उल्लेख गरे । यो विषयमा अझै विस्तृत अध्ययन गरेर आगामी ४ गते संसदमा बोल्ने ओलीले बताए ।













