पोखरा ।
पोखरा महानगरमा महानगर स्तरीय आप्रवासी कामदार सञ्जाल गठन भएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका पोखरा महानगरपालिकाका बासिन्दाको एक भेलाले खेम तिमिल्सिनाको संयोजकत्वमा १३ जना सदस्यीय सञ्जाल गठन गरेको हो ।
सञ्जालको उपाध्यक्षमा लक्ष्मी पौडेल, सचिवमा निर्मला क्षेत्री, सहसचिवमा टोप बहादुर भुजेल र कोषध्यक्षमा महेन्द्र कुमार गुरूङ सर्वसम्मत चयन भएका छन् । सदस्यहरूमा मदन पुन, कृष्ण प्रसाद देवकोटा, रजनी परियार, गान्धि थापा, गठेश आचार्य, शुक्रराज पौडेल, देवि सुनार र कन्या कुमारी थापा चयन भएका छन् ।
समितिका अध्यक्ष तथा सदस्यहरुलाई सीप हस्तान्तरणद्वार सशक्तिकरण (नेष्ट) पोखराका अध्यक्ष आनन्द कुमार पाराजुली, कार्यसमीती सदस्य निलकण्ठ कोइराला र कार्यक्रम संयोजक कुम गुरूङ लगाएतले खादा र अबिरले स्वगत तथा बधाइ ज्ञापन गरे ।
नेष्टका अध्यक्ष आनन्द कुमार पराजूलीको अध्यक्षतामा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमा बोल्दै नगरप्रमुख आचार्यले वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा सबैको चासो र पहल आवश्यक रहेको बताए । उनले विदेशमा नै काम गरेर फर्केर आएकाहरुलाई यो विषयमा अझै बढी ज्ञान हुने भएकाले आफ्नो भूमिका सही तरिकाले निर्वाह गर्न आग्रह गरे ।
प्रमुख आचार्यले वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा सबैको चासो र पहल आवश्यक रहेको औंल्याए । वैदेशिक रोजगार सँग सम्बन्धित केही समस्या वा जिज्ञासा आएमा पालिका त्यसको सहजीकरणमा आफ्नो सीमाभित्र रहेर सबै खाले सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका अध्यक्ष पराजुलीले कार्यक्रममा बोल्दै वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा उपलब्धीमूलक बनाउनुपर्ने खाँचो औंल्याए । वैदेशिक रोजगारमा हुने ठगी, श्रम शोषण, महिला हिंसा, वैदेशिक रोजगारका नाममा हुने बेचबिखन न्यूनीकरण गर्नुपर्ने उनको विचार छ । यस गठित सञ्जालको नियमीत बैठक तथा महत्वपूर्ण गतिविधिहरू सञ्चालनका लागी नेष्टले आवश्यक सहजिकरणका गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सामी कार्यक्रम गण्डकी प्रदेश व्यवस्थापक उमा शर्माले बैदेशिक रोजगारीमा जानुपूर्वका तयारी, ठगीका सम्भावना, बैदेशिक रोजगारीमा हुनसक्ने सम्भावित जोखीम, मनोसामाजिक परामर्शका विषयमा स्पष्ट पारेका थिए ।
यस्तै खालको सञ्जाल यसअघि मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिकामा पनि गठन भइसकेको र यसैगरी निकट भविष्यमा जिल्ला स्तरीय आप्रवासी सञ्जाल गठन गरिने कास्की कार्यक्रम संयोजक कुम गुरुङले जानकारी दिए ।