गण्डकी प्रदेशमा ट्राफिक सप्ताह सुरु, हप्ताभर विविध कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा ट्राफिक सप्ताह सुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा ट्राफिक सप्ताह एक साथ सुरु भएको हो । प्रदेशको राजधानी पोखरामा प्रभातफेरीसहित सुरु सप्ताहको उद्घाटन पोखरा महानगरका प्रमुख धनराज आचार्यले गरेका हुन् ।

उनले महानगरपालिका भित्रका सडक र यहाँ सञ्चालन हुने सवारी साधन गुणस्तरीय बनाउने सबालमा सरोकारवाला सबै पक्षसंग सहकार्य गर्न महानगर तयार रहेको बताए । सबै सरोकारवाला पक्षलाई सडक सुधार तथा विभिन्न ट्राफिक संकेतसहित रोड फर्निचरका लागि गर्नुपर्ने काममा महानगर तत्पर रहेको उनको भनाई छ ।

पोखराबाट सञ्चालन हुने सवारी साधन प्राविधिक रुपमा ठिकठाक भएको प्रमाणित गरेर मात्र सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । त्यसका लागि महानगरको समेत यातायात समिति र प्राविधिक टोली तयार रहने उनले बताए । प्राविधिकरुपमा ठिक रहेका सवारी साधन चेकजाँच गरेर हरियो स्टिकर लगाएर मात्र सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । प्राविधिक रुपमा ठिक सवारी साधनले मात्र प्रदुर्शण न्युनिकरणमा सहज हुने उनले बताए ।

रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले ट्राफिक व्यवस्थापनका लागि आफ्नो गाउँपालिकाले हरेक बर्ष बजेट व्यवस्थापन गर्नेगरेको भन्दै उनले अरु पालिकाहरुसंग पनि सहकार्य गर्न तयार रहेको जानकारी दिए । पोखरा महानगरपालिकासंग पनि आफूहरु हातेमालो गर्न तयार रहेको भन्दै उनले ट्राफिक व्यवस्थापनमा मिलेर काम गर्न चाहेको धारणा राखे ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले ट्राफिक सप्ताहले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै ट्राफिक नियमको पालना गर्नु सबै सडक प्रयोगकर्ताहरुको साझा दायित्व रहेको धारणा राखे । राष्ट्रिय मावन अधिकार आयोग गण्डकी प्रदेश प्रमुख मायाँदेवी शर्माले निर्वाध रुपमा आवागामन गर्न पाउनु नागरिक अधिकार रहेको धारणा राखिन् । पैदलयात्रुको सुरक्षा, स्वच्छ हावा लिन पाउने जस्ता अधिकारहरुलाई स्थापित गर्न निर्माण गर्नुपर्ने संरचना समयमै निर्माण गरिनुपर्ने उनले बताइन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले सवारी दुर्घटनाबाट हुने जनधनको क्षति भयाभह रहेको भन्दै यसको न्युनिकरणका लागि ट्राफिक सप्ताह फलदायी हुने बताए । सबै सरोकारवालाहरुको साझा प्रयासले मात्र सवारी दुर्घटना न्युनिकरण गर्न सकिने उनको भनाई थियो । ऐनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यालय स्तरबाट नै ट्राफिक नियमको बारेमा जानकारी दिनुपर्ने र कर्तव्य पालनाका लागि सबै सचेत हुनेपर्ने धारणा राखे ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर खत्रीले ट्राफिक सप्ताह फलदायी बनाउन सम्पूर्ण यातायात मजदुरहरुको साथ रहने धारणा राखे । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले स्वागत गर्दै गण्डकीमा ट्राफिक व्यवस्थापन र यसमा आइपरेका कठिनाईका बारेमा जानकारी गराए ।

औपचारिक कार्यक्रमको सञ्चालन प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना र पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना शर्मा वर्षाले गरेका थिए । उक्त अवसरमा म पनि ट्रफिक लेखिएका विभिन्न प्लेकार्ड डिस्प्ले गरिनुका साथै ट्राफिक सम्बन्धि विविध सचेतना मुलक जानकारी गराइएको थियो ।

एक हप्तासम्म चल्ने ट्राफिक सप्ताह कार्यक्रममा चालक, सहचालक, पैदल यात्रु, विभिन्न विद्यालयका विद्यार्थीसहित सरोकारवालाहरुसंगको सहकार्यमा विविध कार्यक्रम हुनेछन् ।

  • २५ बैशाख २०८०, सोमबार २१:३१ प्रकाशित