काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले आज (सोमबार)देखि अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा आइतबार साझेदारबीच भएको बैठकले गरेको निर्णयअनुसार सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापनको काम सुरु गरेको हो ।
सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षमा छलफल गर्न बसेको बैठकले पहिलो चरणमा माइतीघर मण्डलदेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
सोमबार बिहान माइतीघर मण्डल र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिएको महानगर प्रहरी बलका प्रमुख पाण्डेले बताए । यसमा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन् ।
ती क्षेत्रमा सेवा प्रदायकले आ-आफ्नो तारमा संकेत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैं जिम्मेवार हुनुपर्ने बताइएको छ ।














