काठमाडौं ।
काठमाडौं महानगरपालिकाले भोलिदेखि महानगर भित्रका अव्यवस्थित तार हटाउने भएको छ । सोमबारदेखि अव्यवस्थित तार हटाउन नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु राजी भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु र महानगरपालिका बीच आइतबार भएको छलफलमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु तयार भएको महानगरले जनाएको छ ।
महानगरका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाइने छ ।
महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिंदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरपालिकासहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । त्यसपछि महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो ।














