विराटनगर ।
भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र ८ चाँदीसहित व्यापारिक घरना दुगड ग्रुपका लेखापाल पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरीले रानी नाकातर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको इको भ्यानबाट बरामद सो सुनचाँदी बरामद गरेको हो । भ्यानमा दुगड ग्रुपका लेखापाल र उनकी श्रीमतीसँग सात लाख भारतीय रुपैयाँ समेत बरामद भएको छ ।
प्रहरीले पक्राउ गरेका विनोद कुमार मुरारका दुगड ग्रुपका लेखापाल हुन् । ६१ वर्षीय मुरारका सहित उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूको साथबाट सुनको ठूलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट ६ तोला, सिक्काहरू ३६ ग्राम, ४० ग्रामको १० थान सिक्का, कनौती ५.७८ ग्रामको दुई थान, इयररिङ ६.५० ग्रामको दुई थान गरी ५४ तोला सुन बरामद भएको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए ।
प्रहरीले भारतीय रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ पनि बरामद गरेको छ । बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको रहेको छ ।














