काठमाडौँ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि अनुसन्धानको दायरामा तानिएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने नामममा करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा उच्चपदस्थ व्यक्ति पक्राउ परिरहेको बेला पूर्वगृहमन्त्री खाँण पनि संलग्न रहेको पाइएको हो ।
खाँण गृहमन्त्री भएको बेला गृहसचिवको जिम्मेवारी पाएका टेकनारायण पाण्डे यो प्रकरणमा प्रक्राउ परि सकेछन् । पाण्डेलाई गृहसचिवमा खाँणले नै सरुवा गरिदिएका थिए । गृह प्रशासनको अनुभव नै नभएका पाण्डेले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको इच्छा अनुसार नै आफूले मानव तस्कर गिरोहलाई सघाएको प्रहरीलाई बताएका छन्।
यो गिरोहमा हालसम्म पक्राउ परेका आठ जनामध्ये पाण्डे सबैभन्दा ‘हाई प्रोफाइल’ व्यक्ति हुन्। उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई प्रहरीले वैशाख २० गते पक्राउ गरेको थियो।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सचिव पाण्डेले नै शुरूमा गिरोहका बिचौलिया समूहसँग मन्त्री खाणको भेट गराइदिएको देखिएको छ। “रामबहादुर थापा गृहमन्त्री छँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजीत राईको भूमिका पछि सचिव पाण्डेले निभाएको प्रमाणबाट खुल्छ,” यो प्रकरणको शुरूदेखि नै अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, “पाण्डेले भेट गराइसकेपछि भने गृहमन्त्री खाणले सोझै भेट्ने गरेका रहेछन्।”
पाण्डेको मोबाइलबाट समेत खाण यो प्रकरणमा प्रत्यक्ष जोडिएको ‘क्लू’ भेटिएको प्रहरी स्रोतको दाबी छ। वाट्सएप मार्फत गिरोहका बिचौलियासँग कुराकानी गर्दा पाण्डेले मन्त्री खाणको नाम बारम्बार लिएको भेटिएको जनाइएको छ। “यो प्रमाणलाई पुष्टि गर्ने गरी पाण्डेले गृहमन्त्रीको इच्छा अनुसार आफूले काम गरेको हामीसँग बताएका छन्,” ती प्रहरी अधिकृत भन्छन्। २०७५ सालदेखि गृह प्रशासनको मिलेमतोमा यो गिरोह सक्रिय भएको पनि अनुसन्धानबाट खुलेको छ।
२०७४ फागुन १४ देखि २०७८ असार २८ गतेसम्म रामबहादुर थापा गृहमन्त्री थिए। खाण २०७८ असारदेखि २०७९ पुस ११ गतेसम्म बादलको उत्तराधिकारी बनेर गृह सम्हाल्न आइपुगेका थिए। “बादलको तुलनामा निकै छोटो कार्यकाल गृह मन्त्रालयमा बिताएका खाणले गिरोहसँग बलियो उठबस गरेको देखिन्छ,” अनुसन्धानमा सामेल ती प्रहरी अधिकृत भन्छन्।
खाण गृहमन्त्री बनेको एक महीनापछि पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सचिवबाट गृह मन्त्रालयमा सरुवा भएका थिए। २०५१ सालमा विद्यालय निरीक्षकबाट सरकारी सेवामा छिरेका पाण्डेले जागीरको लामो समय शिक्षा सेवामै बिताएका थिए। उनले गृह प्रशासनको अनुभव लिएको सचिव भएपछि मात्र हो।
प्रहरीद्वारा गिरोहको नाइके भनिएका केशव दुलाल र कांग्रेस नेताहरूको सम्बन्ध पुरानो छ। कांग्रेस नेता सुजाता कोइराला उपप्रधानमन्त्री छँदा दुलाल निजी सहायक थिए। अर्का आरोपित सागर थुलुङ मोरङको पथरी९शनिश्चरे नगरपालिका९१० को वडाध्यक्षमा कांग्रेसबाटै २०७४ सालको स्थानीय तह चुनावमा निर्वाचित भएका थिए।
८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो। कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ।












