पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजका लागि अधिवेशन आहन गरेका हुन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादी समेत ३५ सांसदको समर्थनमा पाण्डे १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । १५ वैशाखमा सपथ लिएर पाण्डेले कार्यभार सम्हालेका थिए । सरकार गठन भएको छोटो समयमा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।
सत्तारुढ कांग्रेस संसदीय दलको बैठक बुधबार बसेको छ । विश्वासको मतका लागि मुख्यमन्त्री पाण्डेले दलको नेताका हैसियतमा ह्विप जारी गरेका छन् । संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त पाण्डेले उपधारा (४) अनुसार विश्वासको मत लिन लागेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, माओवादीको ८ तथा एकीकृत समाजवादीको १ सिट छ ।
माओवादीबाट सभामुख बनेका कृष्ण धितालल मतदान गर्न पाउँदैनन् । प्रतिपक्षमा रहेका एमालेसँग २२ र राप्रपासँग २ गरी २४ मत छ ।













