नेपालीको प्रतिव्यक्ति आय बढ्यो : वार्षिक १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँमा यो १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर हो ।

आर्थिक वर्ष ०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो ।

कार्यालयले गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष थोरैले भएपनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार बढेकाले प्रतिव्यक्ति आय नेपाली रुपैयाँमा सोही दरले बढेको छ । यसरी नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय बढेको देखिए पनि अमेरिकी डलरमा गत वर्षकै बराबर छ ।

यो अवधिमा अमेरिकी डलरको विनिमय दर पनि बढेकाले त्यसलाई समायोजन गर्दा डलरमा प्रतिव्यक्ति आय १ हजार ३ सय ९९ नै कायम भएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

  • १९ बैशाख २०८०, मंगलवार १५:५६ प्रकाशित