आजदेखि नेपाल बारद्वारा आन्दोलन : प्रधानन्यायाधीश नियुक्तिको माग

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आइबतारदेखि आन्दोलन सुरू गरेको छ ।

प्रधानन्यायाधीश नियुक्ति लगायतका ८ वटा माग राखेर बारले आइतबारबाट आन्दोलन थालेको हो । यसअघि नै संवैधानिक परिषद्का प्रमुख समेत रहेका प्रधानमन्त्री र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बारले आइतबारबाट एक सातासम्म प्ले कार्ड र ब्यानरसहित देशव्यापी आन्दोलनको सुरुवात गरेको छ ।

बारले भनेको छ, ‘सम्मानित सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन हुन पुगी न्यायपालिका प्रतिको जनआस्था खस्किँदो अवस्थामा रहेको टड्कारो यथार्थता छ । देशैभरिका अदालतहरूमा रिक्त न्यायाधीशहरूको पदपूर्ति हुन नसक्दा सेवाग्राहीले संविधानद्वारा प्रत्याभूत स्वच्छ न्याय पाउने हकबाट वञ्चित हुनुपरेको छ ।’

बारले आफ्ना ८ बुँदे माग राख्दै आइतबारबाट एक साता हातमा प्ले कार्ड लिएर आन्दोलनको सुरुवात गर्ने र आफूहरूका मागमा सरोकारवालाले चासो नदिएमा अर्को चरणको आन्दोलनको सुरुवात गर्ने बताएको छ ।

  • १७ बैशाख २०८०, आईतवार १४:५९ प्रकाशित