पोखरा ।
पोखरा महानगरपालिका १७ पावसहाउसस्थित फुस्रेखोलामा साथीहरुसँग पौडी खेल्ने पुगेका एक युवकको डुबेर ज्यान गएको छ ।
डुबेर ज्यान गुमाउनेमा पोखरा महानगरपालिका १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङ रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दियो । रोनिश हिजो (शनिबार) आफ्ना दुई साथीको साथ पौडी खेल्न फुस्रेखोला पुगेका थिए ।
पौडी खेल्ने क्रममा रोनिश हिजो (शनिबार) दिउँसो झण्डै साढे तीन बजेतिर डुबेर बेपत्ता भएका थिए । रोनिश डुबेको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरीको उद्धार टोली उनको खोजीका लागि पुगेकोमा प्रहरीले खोलाको कुनापट्टि डुबिरहेको अवस्थामा भेटाएको थियो ।
उनलाई तुरुन्तै उपचारको लागि पश्चिमाञ्चल अस्पताल पुराएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।














