पोखरा ।
काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको ज्यान गुमेको छ । पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको ज्यान गुमेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३० जनाको ज्यान गुमेको छ । पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एक हजार २३८ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ५१ को नतिजा पोजिटिभ आएको हो । २०५ नमुनाको पीसीआर परीक्षण गर्दा २२ र एक हजार ३३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ३५ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या नौ लाख ९० हजार ५५० पुगेको छ । हाल देशभर २७ संक्रमित आइसोलेसनमा छन् । अस्पतालमा रहेका कोरोना संक्रमितमध्ये आठ आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन् ।













