एसीसी प्रिमियर कप क्रिकेट : कुवेतविरुद्ध करण एक्लैले लिए ५ विकेट

केन्द्रभाग मिडिया

पोखरा ।

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा करण केसी एक्लैले पाँच विकेट लिएका छन् । कुवेतविरुद्ध बलिङ गरेका केसीले ४.३ ओभर बलिङ गर्दै १० रन खर्चेर पाँच विकेट लिएका हुन् । केसीले कुवेतका क्याप्टेन मोहम्मद अस्लामसहित अद्नान इद्रीस, रविजा सन्ड्राउन, मीट भवभ्सर र सिराज खानलाई आउट गरे ।

वर्षाका कारण अहिले खेल रोकिएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो ।

खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको छ । नेपालका करण केसी एक्लैले पाँच विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् । सोमपालले परविन्दर कुमारलाई आउट गरे ।

यसअघि नेपालले ब्याटिङ गर्दा पनि २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो ।

  • १६ बैशाख २०८०, शनिबार १५:५६ प्रकाशित