सरकार सुरक्षा दिन सक्षम छ कि छैन ?संसदमा आई प्रधानमन्त्रीले नै जवाफ दिनु पर्‍यो : एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री सदनमा आई जवाफ दिन माग गरेको छ । आफ्ना पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण भइरहेको भन्दै एमालेले प्रधानमन्त्रीको जवाफ मागेको हो ।

शुक्रबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद विष्णु पौडेलले १३ वैशाखमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा सांघातिक आक्रमणको प्रयास भएको बताए ।

इलामबाट फर्किने क्रममा बाटोमा एम्बुस थापेर आक्रमण गर्न खोजिएको र अरुतिर पनि यस्तो तयारी भइरहेको सूचना आएको भन्दै उनले भने, ‘सरकारले अकर्मण्यता प्रदर्शित गरेको छ, यसको घोर भर्त्सना गर्न चाहन्छु ।’

सरकार मौन समर्थक बनेको र आक्रमणकारीलाई उक्साउन सत्ता समर्थक दलका कतिपय कार्यकर्ता सहभागी भएको सूचना पाएको उनले बताए । सरकार शान्ति सुरक्षा प्रदान गर्न सक्षम छ कि छैन ? प्रधानमन्त्रीले नै आएर जवाफ दिनुपर्ने उनले बताए ।

यसबारे संसदमा प्रश्न उठेपछि गृहमन्त्रीले जवाफ दिएको, तर आक्रमणका प्रयासहरु नरोकिएको उनले बताए ।

‘गृहमन्त्रीले सदनलाई दिएको जानकारीले पुगेन । यो अपराध कर्ममा संलग्नहरुलाई कडा कारबाही गरियोस् ।’ उनले भने

  • १५ बैशाख २०८०, शुक्रबार १५:३१ प्रकाशित