पोखरा।
पोखरा महानगरपालिका ९ स्थित हङकङ बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले आज पोखरा महानगरपालिका गेटअघि २ घण्टा धर्ना दिने भएका छन् ।
आफ्नो समस्या समाधान नभएको भन्दै ३ बुँदे मागसहित आन्दोलन कार्यक्रम घोषणा गरेका व्यवसायीले आज महानगर अघि बिहान १० देखि १२ बजेसम्म र भोलि १५ गते कृषि साम्रगी कम्पनीको प्रादेशिक कार्यालयमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिने भएका हुन् ।
कृषि सामग्री कम्पनी र नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा विगत १० वर्षदेखि व्यवसाय गर्दै आएपनि हङकङ बजारलाई टेण्डरमार्फत विस्थापन गर्न लागेको भन्दै व्यवसायीले हिजो ३ बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
हङकङ बजारलाई ठेकेदारलाई फाइदा पुग्ने मनसायले बोलपत्र आह्वान गरेको व्यवसायीको आरोप छ ।
पोखराका सडकलाई फुटपाथ व्यवसायी मुक्त बनाउन २०६९ सालमा हङकङ बजार स्थापित गरिएको थियो । विगत १० वर्षदेखि हङकङ बजारमा व्यवसाय सञ्चालन गर्दै आएकोमा उक्त स्थानमा व्यवसाय गरेवापत (६र९ र ९र९ को) सटरको मासिक भाडा बुझाउँदै आएपनि अहिले टेण्डरमार्फत व्यवसायीहरुलाई विस्थापन गर्न खोजिएको समितिका अध्यक्ष कृष्णकुमारी गुरुङले जानकारी दिइन् ।
उनले फुटपाथ व्यवसायीहरुलाई हङकङ बजारमा व्यवस्थापन गरेपनि अहिले टेण्डरमार्फत भाडामा लगाउँदा राज्यलाई नभएर ठेकेदारलाई फाइदा पुग्ने अध्यक्ष गुरुङले बताइन् ।
कृषि साम्रगी कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि अहिलेको भन्दा ४ सय प्रतिशत बढाएर बोलपत्र आह्वान गरेको व्यवसायीको गुनासो छ ।
७ रोपनी क्षेत्रफलमा फैलिएको कृषि साम्रगी कम्पनीको जग्गा यसअगाडि नन्दप्रसाद तिवारीका छोरा मिलनप्रसाद तिवारीबाट कम्पनीले मासिक रुपमा २ लाख ४४ हजार ५ सय १० बुझ्दै आएपनि ०७८ माघ २९ गतेबाट मिलनसँगको करार अवधि सकिएपछि नयाँ करारका लागि चैत्र २१ गते गोरखापत्र दैनिकमा ३१ दिने अवधिको बोलपत्र कम्पनीले आह्वान गरेको हो ।
व्यवसायीहरुले न्यूनतम भाडा दर १२ लाख १५ हजारलाई कायम गरी टेण्डर प्रक्रियामा गए सम्पूर्ण व्यवसायीहरु पुनस् फुटपाथमै व्यवसाय गर्ने चेतावनी दिएका छन् ।














