पोखरा ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले रविले पनि एक प्रकारको क्रान्ति नै गरेको बिताएका छन । बुधबार पोखरामा आयोजित राज्य द्वारा बेपत्ता पारिएका योद्धा पूर्ण पौडेलको स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधन गर्दै उनले क्रान्तिको नेतृत्व माओवादीले मात्र नगर्ने भन्दै देशको अवस्था हेरेर जसले पनि नेतृत्व गर्नसक्ने टिप्पणी गरे ।
रविले सुरु गरेको क्रान्ति कस्तो खालको हो भने हेरिनुपर्ने उनको भनाई छ । क्रान्ति धेरै खालका हुने व्याख्या गरेका उनले क्रान्ति पछि हुने प्रति क्रान्तिलाई पनि क्रान्ति भन्ने गरिने गरेका र त्यसलाई सहि पहिचान गर्नुपर्ने उनले बताए । ‘अहिले रविजीले नेतृत्व गरेर जे गरिरहनुभएको छ, त्यो पनि एक प्रकारको क्रान्ति नै हो । तर, त्यो कस्तो खालको क्रान्ति हो हेर्न र विश्लषण गर्ने पाटाहरु अलग हुन सक्छन् ।
हिजो सात सालमा क्रन्ति भएको थियो । ०४६ मा क्रान्ति भएको थियो । १० वर्षे जनयुद्ध भयो ।’ उनले भने, ‘सात सालमा आन्दोलन कांग्रेसले, ०४६ मा कांग्रेसले वा झापा विद्रोह मालेले अथवा १० वर्ष जनयुद्ध माओवादीले गरेको होइन । त्यसको नेतृत्व विभिन्न कालखण्डमा कांग्रेस, तत्कालिन माले र पछिल्लो १० वर्षे जनयुद्धको नेतृत्व माओवादीले गरेको हो । त्यसमा सबै जनता सहभागी भएका छन् ।’
आन्दोलन जसको नेतृत्वमा पनि हुनसक्ने र्औल्याएका उनले अहिलेकै जस्तो संसदीय व्यवस्था अरु १० वर्ष सम्म रहे देश उपनिवेश बन्ने वा युक्रेन बन्ने उनले ठोकुवा गरे । उलने सत्तामा गएका दलहरुका लडाइँ देखेर जनता आजित भएको धारणा राखे । अहिलेको व्यवस्थाले देशमा राजनीतिक स्थायित्व नदिने बताएका उनले देश अब कस्तो समाजवादमा जाने भनेर विकल्पमा जनतालाई निर्णय गर्न दिनुपर्ने बताए ।
उनले एक दलिय व्यवस्था भने अव नहुने उनको प्रष्टोक्ति थियो । ‘एक दलीय व्यवस्था हुनुपर्छ हामी भन्दैनौं । हामीले भनेको पैसाको भरमा चुनाव जित्ने, पैसाले साशन सत्ता किन्ने व्यवस्थाको अन्त्य हो । त्यसका लागि हामी खुला छौं । कस्तो खालको समाजवादमा जाने हो, त्यो विकल्प दिन दलहरु तयार हुनुपर्छ’ उनले भने ।













