आज गोरखा भूकम्पको आठ वर्ष पूरा, बारपाकमा बिदा

केन्द्रभाग मिडिया

आज वैशाख १२ । वि.स. २०७२ वैशाख १२ गते आजकै दिन झण्डै ९ हजारको ज्यान जाने गरि भुकम्प गएको थियो । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ ।

विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा ज्यान गएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र ४७१ जनाको निधन भएको थियो ।

बारपाक सुलीकोटमा सार्वजनिक बिदा

यसैबीच गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिएका छन्।

गोरखा भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले पालिकाले सोही दिनको सम्झना तथा भूकम्पमा परेर ज्यान गुमाएकाहरूको स्मृतिमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।

बिदाको दिन पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।

भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाको आयोजनामा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज विशेष कार्यक्रम आयोजनासमेत गरिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।

भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण गर्‍यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन ।

  • १२ बैशाख २०८०, मंगलवार ०८:५८ प्रकाशित