उपचुनावको सबै तयारी पुरा

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोलि हुने उप–चुनावको सबै तयारी पूरा भएको छ निर्वाचन आयोगले जानकारी दिएको छ । भोलि उपनिर्वाचन हुने क्षेत्रहरु चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा चुनावको तयारी पूरा भएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता एवं सहायक प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए ।

मतदान भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने आयोगले जनाएको छ । मतदान सुरू हुनु ४८ घण्टा अगाडि नै प्रचारप्रसार गर्न आयोगले निषेध गरेको थियो । यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइ सकिएको आयोगले जनाएको छ ।

मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको छ । आवागमन र गाडी सञ्चालनका लागि पालिकाहरुले तोकेबमोजिम हुने गरी गर्न र मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुन सक्ने प्रभावको पूर्व तयारीका लागि त्रीपाल लगायतका सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन र पालिकालाई आवश्यक निर्देशन दिएको सहायक प्रवक्ता वाग्लेले बताए।

मतदानमा अवरोध हुने खालका गतिविधि कसैबाट भएमा त्यस्ता व्यक्ति तथा समूहलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको छ । आयोगले उपचुनावलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चार माध्यमलगायत सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

  • ९ बैशाख २०८०, शनिबार १८:२९ प्रकाशित