पोखरा ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेशका अधिकारलाई स्थापित गर्न सबै मिलेर अगडि बढ्नुको विकल्प नरहेको बताएका छन् । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्ताव उपर बोल्दै उनले यस्तो बताएका हुन् ।
आफूहरुले संघर्ष गरेर ल्याएको संघीयता, गणतन्त्र र समावेशीतालाई जोगाउन र संविधानमा उल्लेखित अधिकारलाई स्थापित गर्न दलहरु मिल्नुको विकल्प नरहेको उनको जिकिर थियो । ‘हामीले संघर्ष गरेर ल्याएको गणतन्त्र हो । भौगोलिक, जातीय, भौगोलिक र भाषिक विविधतालाई समावेशी गर्नका लागि संघीयता ल्याएको हो । राजतन्त्र चाहिन्छ भन्नेहरु, बाउ मरेपछि छोरा राजा हुने संस्कृति बाट हुर्केकाहरुले यसलाई पचाउन नसक्नेहरुको कुरा स्वभाविक हो । तर त्यो जमात ठूलो हुनु दुखद् छ ।’ उनले भने, ‘हामीले ल्याएको समावेशीता, संघीयता र गणतन्त्र जोगाउने हाम्रो मुख्य प्रतिवद्धता हो । हामी विदेश जान नसकेर र छात्रबृति नपाएर विदेश नगएका होइनौं । जनताले छानेको दल र व्यक्तिले शासन गर्न पाउनुपर्छ भनेर संघर्षमा होमिएको हो । यसलाई फरकढंगले व्याख्या गर्न खोजिएको छ । यसका विरुद्ध हामी सबै लाग्नुपर्छ ।’
उनले अहिले संघीयता ल्याउनेहरु, गणतन्त्र ल्याउनेहरु, २०३६, ०४६ र ६२÷६३ मा आन्दोलनमा लाग्नेहरु पार्टी र व्यक्तिलाई वाइघात हुन् भन्ने देखाउन खोजिएको टिप्पणी गरे । नेता पाण्डेले विगतमा प्रजातान्त्रिकरण गर्न नदिने, आन्दोलनलाई भाँड्न खोज्ने र विदेश पलायन हुनेहरु महान हुन कि भन्ने वातावरण तयार पार्न खोजिएको तर्फ सचेत रहनुपर्ने पनि बताएका छन् ।
नेता पाण्डेले देशको समृद्धि, प्रदेशको संरचनाको विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र विकासका लागि कोही सत्ता पक्ष र प्रतिपक्ष हुँदैन भन्ने चाहनाले अधिकारी नेतृत्वको १०५ दिने सरकारलाई कांग्रेसले सहयोग गरेको बताए । निर्वाचन प्रणाली र यस प्रणाली अन्तर्गत जनताले दिएको म्याण्डेड अनुरुप सत्ता अदलबदल भइरहनुलाई स्वभाविक रुपमा लिनुपर्ने उनको भनाई छ । ‘यो जनताको म्याण्डेड हो । अब बन्ने सरकार पनि पुरै अबधि टिक्छ भन्ने छैन ।’ उनले भने ।













