काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताएका छन् ।
महासचिव पोखरेलले देशको विद्यमान परिस्थितिको समाधान गर्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताएका हुन् । उनले नेपाली जनमत विभाजित हुँदा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेको स्पष्ट पारे । उहाँले जति धेरै राजनीतिक दलहरू हुन्छन् उति नै नीतिगत सम्झौता, नीतिगत विचलन र सत्ताको सौदाबाजी हुने बताए । त्यस्तै वैदेशिक चलखेल र हस्तक्षेप पनि धेरै दलहरू हुँदा बढ्ने उनको भनाई छ ।
महासचिव पोखरेलले सत्ता केन्द्रित भएर अघि बढ्न खोज्दा जनमतलाई ध्रुवीकरण गर्न सम्भव नभएको स्पष्ट पारे । जनमत ध्रुवीकृत नभई बलियो राष्ट्रिय शक्तिहरूको निर्माण गर्न सम्भव नरहेको जिकिर गरे । संसद् हङ पार्लियामेन्टका रूपमा रहनु र प्रधानमन्त्री, मन्त्रीहरू फेरिइरहने कारण मुलुक बन्न नसकेको बताए । उनले देशलाई बनाउनका लागि नीतिका आधारमा वैचारिक ध्रुवीकरण र राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताए ।
महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए । उनले बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै राजनीतिक स्थायित्व प्राप्त गर्न सकिने बताए ।
पोखरेलले संसद्को शक्ति सन्तुलनका कारण देशको दिगो विकासको सपनालाई सार्थक बनाउन नसकिने बताए । अहिलेको परिस्थिति अनुसार कुनै पनि पार्टी सरकारमा गए पनि जनताको चाहनालाई पूरा गर्न कठिन रहेको उनले बताए ।
पोखरेलले एसियाको शक्तिलाई कमजोर बनाउन पश्चिमाहरूले एसियाभित्र कलह सिर्जना गर्ने प्रयास गरिरहेका बताए । एमसीसी र एसपीपी सम्झौता त्यसैको उदाहरणको रूपमा रहेको उनले उल्लेख गरे । नेपालमा बढ्दो अन्तर्राष्ट्रिय गतिविधिहरूले यहाँको राजनीतिलाई अस्थिर बनाउने प्रयास गरिरहेको उनले बताए ।













