राजस्व सङ्कलनमा भूमिका खेल्न अधिकारीलाई अर्थमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं।
अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन्। आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व संकलनमा कुनै पनि लापरबाही गर्न नहुने बताए ।

बैठकमा उनले, “नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन्। सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभावकारी ढङ्गले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ।राजस्व सङ्कलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व सङ्कलनको जिम्मा अर्थ मन्त्रालयको हो ।”

“विभिन्न परिस्थितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम सङ्कलन हुन गएको हो। गतवर्ष सङ्कलन भएको राजस्वसँग अहिले सङ्कलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निकै कम देखियो” मन्त्री डा. महतले भने।

यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर आफूले नभनेको र राष्ट्रिय अर्थतन्त्रमा आएको सङ्कुचन, केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजश्वमा कमी आएको महतले स्पष्ट पारे ।

“तमाम पावन्दी र समस्याका बाबजुद हाम्रो प्रयासमा अवश्य पनि कमी कतै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ।हामी सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै एजेन्डा छैन।तपाईंहरुको कार्य प्रगतिबाट नै तपाईंहरुको मूल्याङ्कन हुन्छ भन्ने कुरामा तपाईंहरु निश्चिन्त हुनुहोस् ।”

  • ७ बैशाख २०८०, बिहीबार १८:३९ प्रकाशित