हेटौंडा ।
बाघको आक्रमणबाट हेटौंडामा २ जना घाईते भएका छन् । हेटौंडा–१५ रातोमाटे सयफुटमा आज बिहान सामुदायिक वनमा बाख्रा चराउन गएका दुई जनालाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घरबाट करिव २०० मिटर जंगलमा बाख्रा चराउन गएका हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने ६५ वर्षका कृष्ण बर्थिङलाई बाघले आक्रमण गरेको थियो ।
घलानको दाहिने कुम, ढाडको बाँया साईड, छातिमा बाघले टोकेको छ भने बाघको टोकाइबाट थिङको घाँटीमा गहिरो चोट लागेको छ । घाइते दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।













