काठमाडौँ ।
सरकारले गरेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको संसद बैठकमा विरोध भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग आकस्मिक समय माग्दै एमाले सांसद सरस्वती सुब्बाले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको सो निर्णयको विरोध गरेकी हुन् ।
उनले भनिन्– ‘हिजो बसेको मन्त्रिपरिषदको बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्ने समाचार सुन्दा दुःख लाग्यो । नेपाल खाद्य संकटको मारमा छ । जलवायू परिवर्तनको उच्च जोखिममा छ । मौलिक हक अन्तर्गत रहेका खाद्य सम्प्रभूता, सुरक्षित आवास लगायत सम्पूर्ण व्यवस्था कार्यान्वयन हुन सकेको छैन । विश्व परिवेशलाई हेर्दा सन् १९९६ मा पहिलो खाद्य सम्मेलन हुँदा ८० करोड जनता खाद्य जोखिममा थिए । अहिले यो संख्या बढेर २ अर्ब ३० करोड पुगेको छ ।’
उनले नेपालमा खाद्यान्न आयातको अवस्था डरलाग्दो रहेको बताउँदै तयार पारिएको भूउपयोग नीति १० वर्ष हुँदापनि कार्यान्वयन नभएको उनले बताइन् । उनले भूउपयोग नीति लागू नगरी पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र जनता विरुद्धको काम भएको उल्लेख गरिन् ।













