अन्नपूर्ण हिमाल आरोहणको क्रममा एक पर्यटकको ज्यान गयो

केन्द्रभाग मिडिया

म्याग्दी ।

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको ज्यान गएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ ।

काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनका अनुसार ‘सेभेन समिट ट्रेक्स ’बाट आरोहणमा गएका आरोही नोयल हन्नाको ज्यान गएको हो। उनको शव छ हजार मिटरको उचाइबाट मंगलबार दिउँसो आधार शिविरमा ल्याइएको छ । उनीहरु दुवैजना आज बिहानदेखि बेपत्ता भएका थिए ।

सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका छन् । सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी बेपत्ता भएका थिए ।

उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौँ लैजाने तयारी गरिएको छ । बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ ।

  • ५ बैशाख २०८०, मंगलवार १५:३० प्रकाशित