खानेपानीको अभाव सुल्झाउन होटल संघको माग

केन्द्रभाग मिडिया

मर्दी खोला

पोखरा ।

होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र बैदाममा खानेपानीको अभाव सुल्झाउन नेपाल खानेपानी संस्थानसँग आग्रह गरेको छ ।संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा हालै संस्थानको पोखरा कार्यालयमा पुगेको व्यवसायीको टोलीले त्यस्तो आग्रह गरेको हो ।

धारामा पानी नआउने र आए पनि नियमित नआउने गरेको विषय अवगत गराउन व्यवसायी संस्थानमा पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । खानेपानी समस्याले समग्र बैदामवासी पीडित भएको भन्दै अध्यक्ष सुवेदीले पानीको समस्या समाधानका लागि गम्भीर बन्न संस्थानसँग माग गरिएको बताए ।

पर्यटकीय सिजन चल्दै गर्दा बैदाम क्षेत्रमा खानेपानी अभाव भए पछि व्यवसाय नै प्रभावित भएको गुनासो संघको रहेको छ । अन्य अवस्थामा समेत खानेपानी आधारभूत र अत्यावश्यक वस्तु भएको स्मरण गराउँदै संघले पानी आपूर्ति नियमित र सुचारु गर्न संस्थानसँग माग गरेको हो ।

सामान्य नागरिक र व्यवसायी सबैका लागि खानेपानी उत्तिकै आवश्यकता र महत्वको वस्तु भएको जनाउँदै संघले विल नियमित तिर्नुपर्ने तर धारामा पानी नआउँदा उपभोक्ता पीडित बन्नु परेको जनाएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को पाँच अर्ब रुपैयाँ अनुदान सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको काम विसं २०७६ देखि सुरु गरिए पनि आयोजनाले अझै पूर्णता पाउन सकेको छैन । विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर तीन वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित काम अघि बढे पनि कोभिड १९ का कारण काम प्रभावित हुन पुगेको थियो ।

  • ४ बैशाख २०८०, सोमबार १४:५४ प्रकाशित