सुडानमा सेना र र्‍यापिड सपोर्ट फोर्सबीच झडप : कम्तीमा ५६ को ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुडानमा दुई सुरक्षा निकायबीच द्वन्द्व चर्किँदा कम्तीमा ५६ जनाको ज्यान गएको छ भने करिब ६ सय जना घाइते भएका छन् । सेना र यापिड सपोर्ट फोर्सबीच भएको झडपमा ५६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुडानको राजधानीमा घण्टौंसम्म झडप भएको थियो ।ज्यान जानेमा १७ जना सैनिक रहेको जनाइएको छ ।आरएसएफ र सेनाले राष्ट्रपति रहने क्षेत्र‚ खार्तौम विमानस्थल र अन्य महत्त्वपूर्ण क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

सन् २०२१ मा सैन्य कु भएपछि आर्मीले नै त्यहाँको राज्य सञ्चालन गर्दै आएको छ । सन् २०२१ अक्टुबर २५ मा सुडानी मिलिटरी जनरल अब्देल फत्ताह अल(बुरहानले सत्ता आफ्नो हातमा लिएपछि सुडानको राज्य सञ्चालन त्यहाँको सेनाले गर्दै आएको छ ।

र्‍यापिड सपोर्ट फोर्समा को संलग्न छन् ?

र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) सन् २०१३ मा गठन भएको थियो र यसको उत्पत्तिको स्रोत कुख्यात जन्जावीड मिलिसिया रहेको थियो।

उक्त मिलिसयाले डार्फरमा विद्रोहीहरूसँग क्रूरतापूर्वक लडेको थियो।त्यस बेलादेखि नै जेनरल डगालोले फौझ निर्माण गरेका छन्। त्यो फौजले यमन र लिबियाको द्वन्द्वमा हस्तक्षेप गर्ने र सुडानका केही सुन खानीहरू नियन्त्रण गर्ने कार्य गरेको छ।

आरएसएफमाथि जुन २०१९ मा १२० भन्दा बढी प्रदर्शनकारीको नरसंहारसहित मानवअधिकार उल्लङ्घनको आरोप पनि लगाइएको छ।

सेनाबाहिर रहेको यस्तो बलियो फौजलाई उक्त देशमा अस्थिरताको स्रोतको रूपमा हेरिएको छ।

  • ३ बैशाख २०८०, आईतवार १६:५४ प्रकाशित