परराष्ट्रमन्त्री बने कांग्रेसका नेता एनपी साउद, सपथ भोलि

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बनेका छन् । कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउदलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार सहमति भएको हो । साउदलाई आइतबार प्रधानमन्त्री प्रचण्डले मन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य रहेका साउद यसअघि सिँचाईमन्त्री बनेका थिए । कांग्रेसभित्रको विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सभापति देउवाले पाँचौं मन्त्री पनि आफ्नै समूहबाट पठाउन लागेका हुन् । यसअघि उपप्रधानसहित ४ मन्त्री कांग्रेसले दाहाल नेतृत्वको सरकारमा पठाइसकेको छ ।

सरकार विस्तार लगायतका विषयमा छलफलका लागि शनिबार बिहान प्रधानमन्त्री दाहाल, सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले मन्त्रीहरुको नाम छिटो दिन देउवालाई आग्रह गरेका थिए । तर, अध्यक्ष नेपालले पनि थप १ मन्त्रालय आफ्नो पार्टीलाई चाहिने अडान राखेका थिए ।

कांग्रेसले बाँकी मन्त्रीको नाम भने पछि पठाउने ती पदाधिकारी बताए । ‘आज एक जनाको नाम मात्र पठाइएको हो’, उनले भने, ‘पछि छलफल गरेर कांग्रेसले अरू मन्त्रीको नाम पनि पठाउँछ ।’

सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । यसअघि कांग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरूङ सहरी विकास मन्त्री, रमेश रिजाल उद्योगमन्त्री र पूर्णबहादुर खड्का रक्षामन्त्री बनिसकेका छन् ।

  • २ बैशाख २०८०, शनिबार १९:४२ प्रकाशित