गायक अनिल विश्वकर्माको “पागल भए म…” सार्वजनिक (भिडियो सहित)

केन्द्रभाग मिडिया

पोखरा ।
गायक अनिल विश्वकर्माको नयाँ गीत “पागल भए म…” सार्वजनिक भएको छ । विहिबार पोखरामा एक कार्यक्रमका बीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

पहिलो नेपाल आइडलका विजेता बुद्ध लामाको शब्द संगीत रहेको गीतलाई अनिलले गाएका हुन् । म्युजिक भिडियोमा प्रज्वल सुजल गिरी र सोफी धरेलको अभिनय छ । एसियन म्युजिकको प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । गीतलाई मिलन शंकरले खिचेका हुन् । उनको कोरियोग्राफीमा नै म्युजिक भिडियो तयार भएको हो । म्युजिक भिडियो एसियन म्युजिकको अफिसियल युटुबबाट सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=5WP5HLXF3YA

कार्यक्रममा गायक अनिलले ‘पागल भए म…’ आफ्ना लागि पहिलो गीत भएको उल्लेख गरे । उसो त उनले यसअघि पनि रेकर्डिङ गरिसकेका छन् । तर म्युजिक भिडियोमा भने पहिलो हो । लामो समय देखि पोखरामा नै रहेर संगीत साधनामा लिप्त अनिल लुकेका प्रतिभा हुन् । खासै बाहिर आउन नचाहने तर साधनामा अनवरत लागिरहने कलाकार मध्ये पर्छन् उनी ।

भन्छन्,‘संगीतमा लागेको लामो समय भयो । तर गीतको म्युजिक भिडियो भने बल्ल सार्वजनिक गर्ने अवसर मिलेको छ । मेरा लागि साधना नै सबथोक हो । अब गीतसंगीतको रेकर्डिङमा समेत निरन्तरता दिन्छु ।’

मिलन शंकरले गीतको म्युजिक भिडियो चितवनमा छायाँकन गरिएको जानकारी गराए । उनले गीतको भावलाई बुझ्दै छायाँकन पक्षलाई बलियो बनाउने प्रयास गरिएको उल्लेख गरे । लामो समय काठमाडौंको बसोबास पश्चात मिलन शंकर हाल पोखरामा नै क्रियाशिल छन् ।

मोडल सोफी धरेलले ‘पागल भए म…’ बाट नयाँ अनुभव संगाल्ने अवसर मिलेको बताइन् । पोखरामा भएता पनि पछिल्लो समय उनको म्युजिक भिडियो एक पछि अर्को बजारमा आइरहेको छ ।

पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा संगीतकार सुनील थापाले पोखराका नवप्रतिभाहरुले गीतसंगीत निकाल्दा खुशी लागेको बताए । यस्तो कार्यको निरन्तरताको शुभकामना व्यक्त गरेका छन् । पोखराको संगीतलाई माथि उठाउन सबै कलाकार प्रोफेसनल बन्न आवश्यक रहेको उनले औंल्याएका छन् ।

गायक विनोद बानियाँले अनिलको सुरुवात राम्रो भएको र संगीतमा भविष्य रहेको बताए । उनले पछिल्लो समय मोडलहरुको पारिश्रमिक आवश्यकता भन्दा धेरैले बढ्दा सिर्जना गर्ने कलाकारहरु मर्कामा परेको उल्लेख गरे । पारिश्रमिक बढाउन समयलाई पनि ध्यान दिनुपर्ने तर्क उनको छ ।

 

  • १ बैशाख २०८०, शुक्रबार १३:२० प्रकाशित