काठमाडौँ ।
बैंकको ब्याजदर घटेको छ । आज बसेको बैंकर्स संघको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकहरुले वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाएका हुन् ।
बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । यो यसअघिको ब्याजदर भन्दा १.०१ प्रतिशतले कम हो । यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
वाणिज्य बैंकहरुले चैत महिनाका लागि मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिरहेका थिए भने संस्थागत निक्षेपमा ९ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका थिए ।
यस्तै, साधारण बचतमा ६.५ प्रतिशतदेखि ८.४३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका बैंकहरुले आगामी वैशाख १ गतेदेखि न्यूनतम ५.४ प्रतिशतदेखि ७।४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् ।
बैंकहरुबीचको भद्र सहमतिअनुसार कल निक्षेपमा भने बचतको तल्लो सीमाको ५० प्रतिशत हुनेगरी ब्याजदर निर्धारण गर्ने भएका छन् ।
नयाँ ब्याजदर शुक्रबार अर्थात् भोलि वैशाख १ गतेबाट कार्यान्वयनमा जानेछ ।