काठमाडौ ।
उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार रामचन्द्र संघई पहिलो चरणबाट रिंगआउट भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा कुनैपनि उम्मेदवारले आवश्यक मत पुर्याउन नसकेपछि हुन लागेको दोस्रो चरणको निर्वाचनमा संघाई रिंङआउट भएका हुन । आजै वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन हुने भएको छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मतभार नपुर्याएपछि पहिलो र दोस्रो हुनेबिच पुनः प्रतिस्पर्धा हुने भएको हो ।
दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबिच प्रतिस्पर्धा हुनेछ । एसोसियटतर्फ सर्वाधिक मत ल्याएका रामचन्द्र संघई भने १ प्रतिशतले पछि पर्दै रिङबाटै बाहिरिएका छन् । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले दोस्रो चरणको मतदान आजै हुने जानकारी दिएका छन् ।
जिल्ला नगर तर्फबाट कुल ११७ मत खसेकोमा रामचन्द्र सघंईले ३९ मत, उमेशलाल श्रेष्ठले २८ र अञ्जन श्रेष्ठले ४७ मत पाएका छन् । वस्तुगत तर्फ खसेको कुल १२३ मत खस्दा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले १२ मत, अञ्जनले ४१ मत र उमेशलाल श्रेष्ठले ६९ मत पाएका छन् । एक मत बदर भएको थियो । बस्तुगत तर्फबाट सर्वाधिक मत पाएसँगै उमेशलालले दोस्रो चरणमा भिडन्त पक्का गरेका हुन् ।
जिल्ला नगर र एसोसियटको मत गणना सकिँदा तेस्रो स्थानमा रहेका उमेशलालले बस्तुगत तर्फको मतगणनाबाट ‘बाउन्स ब्याक’ गरेका हुन् । एसोशिएट तर्फ भने संघईले ६१३ मत ल्याएका । अञ्जन श्रेष्ठले ५७३ र उमेश श्रेष्ठले ४२६ मत ल्याएका छन् । महासङ्घ निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसिएट ३० प्रतिशत र बस्तुगतको २० प्रतिशत हुन्छ । दोस्रो चरणका लागि हुने निर्वाचनमा संघाईले कसको पक्ष लिन्छन् भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ । संघाईसहित भावी अध्यक्ष चन्द्र ढकालको भूमिका अबको निर्वाचनमा थप अर्थपूर्ण हुने जानकारहरू बताउँछन् ।