पोखरा ।
केटी बनेर प्रेममा पारेर युवकबाट ६० लाख रुपैयाँ ठग्ने पर्वतका विश्व शर्मा पक्राउ परेका छन् ।
फेसबुकमा सृष्टि पौडेल नामको आइडी बनाई विश्वले काठमाडौं लाजिम्पाटका एक व्यापारीबाट ६० लाख असुलेका हुन् ।
म्यासेन्जरमा कुरा बाक्लिदै गएपछि व्यापारी सृष्टिको प्रेममा परेका थिए । आफु पोखरा बस्ने बताउँदै कुरा गर्ने विश्वले व्यापारीले प्रेममा परेको थाहा पाएपछि आमा बिरामी भएको भन्ने विभिन्न बहानामा व्यापारीबाट पैसा लिने गरेको खुल्न आएको छ ।
म्यासेन्जरबाट सुरु भएको कुराकानी मोबाइल फोनमै पनि हुन थालेको थियो । विश्वको आवाज केटीको जस्तो सुमधुर भएकाले व्यापारीले उनी युवती नै ठानेर माया प्रेमका कुरा गर्न थालेको बताइएको छ । प्रेम झाँगिदै गएपछि सृष्टि बनेर बोल्ने विश्वले व्यापारीसगँ बाट रकम माग्न थालेकी थिइन् ।
विश्वले पैसाका लागि व्यापारीसँग भेटमा शारीरिक सम्बन्धमा रहने समेत आश्वासन दिने गरेको खुल्न आएको छ । यद्यपि उनले ६० लाख असुल्दा सम्म भेट्नका लागि पोखरा बोलाए पनि व्यापारी भेट्न आउने पक्का भएपछि भने नभेट्नका लागि विभिन्न बहाना गर्ने गरेको व्यापारी प्रहरी बयानमा खुलाएको जनाइएको छ।
शंका लागेपछि व्यापारीले युवतीलाई तत्काल भेट्न दबाब दिदैं नभेटे ठगीको कसुरमा साइबर ब्युरोमा उजुरी दिने चेतावनी दिएपछि युवतीको नाममा विश्वले पैसा ठगेको र उनी युवक रहेको खुल्न आएको हो ।
पोखरा बस्ने बताउँदै आएका विश्वको मोबाइल नम्बर ट्रयाक गर्दा उनी पर्वत जिल्लाको देउपुरका रहेको थाहा भएको हो । उनले ११ महिनादेखि केटी बनेर व्यापारीबाट पैसा असुल गरिरहेका थिए ।
यसरी ठगेको पैसा भने लक्जरियस होटल, रिसोर्टमा गई मोजमस्ती गरि खर्च गर्ने गरेको पाइएको प्रहरीले बताएको छ ।
पोखराको बाराही उच्च माविमा पढेका विश्वले युवतीको फेक आइडीमा आफ्नै सहपाठी(साथी)को फोटो राखेर ठगी गरिरहेका थिए ।