पोखरा ।
कपडा व्यवसायी एसोसिएसन कास्कीको २७ औँ स्थापना दिवस, नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । संस्था स्थापना भएको २७ वर्ष पुरा भएको अवसरमा प्रकाशित नयाँ वर्ष २०८० सालको भित्ते पात्रोको समेत विमोचन गरिएको हो ।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोलाले व्यवसायीहरू सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए । कोरोना भाइरसको सङ्क्रमणका कारण थला परेका व्यवसायीहरूको अवस्था हाल आर्थिक सङ्कटबाट गुज्रिरहेको उनले बताए । अँध्यारो पछि आउने उज्यालोलाई हेरेर भएपनि व्यवसायीक रूपमा बचेर व्यवसाय सञ्चालन गर्नु पर्ने अवस्थामा व्यवसायीहरू रहेको उनले उल्लेख गरे ।
संस्थाका पूर्व अध्यक्ष रामचन्द्र गौतमले मुलुकको राजनीतिक अस्थिरता र बैक तथा वित्तीय संस्थाको अचाक्ली ब्याजका कारण व्यवसायीहरू थप समस्यामा परेको बताए । आर्थिक रूपमा धारासायी भएका व्यवसायीहरूको पुनरुत्थानका लागि समस्याहरूको साझा समाधानमा जोड दिए ।
संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार जनकराज पराजुलीले आर्थिक चपेटामा परेका व्यवसायीहरूलाई घर भाडामा सहुलियतका लागि विशेष पहल गर्नुपर्ने बताए। कोरोनाकाल पछिको आर्थिक सङ्कट र चर्को ब्याजदरका कारण पलायन हुने अवस्थामा पुगेका व्यवसायीहरूको समस्या समाधानका लागि उनले एकीकृत प्रयासमा जोड दिए । सामूहिक रूपमा व्यवसायीहरूको समस्याका सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन नसके समस्या थप जटिल बन्दै जानेतर्फ उनलेसचेत बन्न सुझाव दिए ।
संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार यमनाथ तिमिल्सीनाले व्यवसायीका पिर मर्काका विषयमा एकाकार हुन आवश्यक रहेको बताए । साझा समस्याहरू समाधानका लागि व्यवसायीक एकता र समझदारी आवश्यक पर्ने उनले बताए । संस्था सदैव व्यवसायीहरूको हितका लागि निरन्तर क्रियाशील र सक्रिय हुनु पर्नेमा उनले जोड दिए ।
संस्थाका पूर्व अध्यक्ष नवीन नापितले कठिन परिस्थितिका बाबजुद पनि व्यवसाय सञ्चालन गर्नु परेको बताए । राज्यले थोपरेको करको भारी र बैक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजले व्यवसायीहरूलाई निकै अप्ठ्यारो पारेको उनले उल्लेख गरे । व्यवसायीका समस्याको समाधानका लागि विशेष पहल गर्न जरुरी रहेको उनले बताए ।
उक्त अवसरमा एसोसिएसनले विद्यार्थीहरू सारिका राना र खुसी तामाङलाई छात्रवृत्ति समेत प्रदान गरेको छ । संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद तिमिल्सीनाले धन्यवाद ज्ञापन, स्वागत उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामचन्द्र तिमिल्सीना र सञ्चालन संस्थाका महासचिव चोक बहादुर गुरुङले गरेका थिए ।