बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ।
बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, रेबान तनहुँको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सव आगामी चैत ३० गतेदेखि सुरू हुने महोत्सव अगामी वैशाख २ गतेसम्म जारी रहने छ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले ‘सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गरौँ’ भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गर्न लागिएको बताए।
सडक खाना महोत्सवका दिन बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन्। साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भने विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिने अध्यक्ष प्रधानले जानकारी दिएका छन् ।
नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।