फेवा महोत्सवको तयारी तिव्र : सुरक्षा र शुल्क छुट विशेष प्राथमिकतामा

केन्द्रभाग मिडिया

पोखरा।

यही चैत २९ गतेबाट सुरु हुने फेवा नब वर्ष महोत्सवको तयारी तिव्र पारिएको छ । विशेषगरी महोत्सवको सुरक्षा र छुटको विषयलाई ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् ।

आयोजक होटल संघ पोखरा नेपालले शुक्रबार महोत्सवका बारेमा सुझाव र सल्लाह लिन आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले सुरक्षाको विषय संवेदनशिल भएको भन्दै महोत्सवमा कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ सचेत रहनुपर्ने सुझाव राखे । यसैगरी महोत्सवकै समयमा रेष्टुरा र होटलमा खानबस्न तथा अन्य पर्यटकीय सेवामा के कस्तो छुट र सहुलियत छ भनी व्यवसायीले जिज्ञासा राखेका थिए ।

चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्म फेवा नव वर्ष महोत्सव हुँदै छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा ६ का अध्यक्ष विष्णुवहादुर भट्टराईले संघमा दर्ता नभएका होटलले महोत्सवको अवसरमा महंगो शुल्क अशुल्दा गलत सन्देश गएको अनुभव सुनाए । मुनाफा कम गरेर भए पनि यस्तो बेला उपभोक्तालाई छुट दिनसक्नुपर्ने सुझाव उनले राखे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फेवा महोत्सव एउटा ब्राण्डकै रुपमा स्थापित भइसकेको बताउँदै यसलाई अझै परिस्कृति र वृहत ब्राण्डिङ गरेर अगाडि बढ्नुपर्ने सुझाव राखे ।

सकेसम्म होटलहरुले कोठाको मूल्य पहिला नै सार्वजनिक गरेर प्रि–बुकिङको सुविधा दिन सके राम्रो हुने सुझाव पनि उनले राखे । सामाजिक संजाल र अन्य डिजिटल माध्यमबाट प्रचारप्रशारको कामलाई तिव्रता दिनुपर्ने उनले बताए ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले फेवा महोत्सव सबै पोखरेलीको महोत्सव भएको बताउँदै यसको सफलताका लागि सम्पूर्ण पोखरेलीले हातेमालो गरी अगाडि बढ्नुपर्ने आबश्यकता औंल्याए । संघ अन्तर्गतका होटलहरुले कोठाको मुल्यमा विगतमा जस्तै प्रकाशित दररेटमा २० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी पनि उनले गराए ।

रेवान पोखरासँग सहकार्य गरेर नै आफूहरुले महोत्सवलाई अगाडि बढाउन लागेको पनि उनले सुनाए । खाना, संस्कृति र पर्यटनलाई मुख्य जोड दिएर पर्यटन प्रवद्र्धन गर्ने तथा कोभिड– १९ बाट अफ्ठ्यारोमा परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य महोत्सवले लिएको उनले बताए ।

पृथ्वी राजमार्गको जारी स्तरोन्नती कार्य र केही महिना अघि पोखरामा भएका जहाज दुर्घटनाले सिजनकै समयमा अहिले होटलको अकुपेन्सी निकै घटेको जाननकारी पनि उनले दिए । निःशुल्क प्रवेशको व्यवस्था रहेको महोत्सव अन्तर्गत चार नम्बर स्ट्रिट अगाडि र सेन्ट्रल प्यवान्टमा स्टेज स्थापना गरी सांस्कृतिक कार्यक्रम अयोजना हुने छन् । उद्घाटनको दिन झाँकी र र्याली निकालिने छ ।

कार्यक्रममा सुझाव राख्दै टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले फेवा महोत्सवले पोखराको ब्राण्डिङमा सघाउ पुगेको बताए । नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पोखरामा पर्यटकको बसाई लम्ब्याउनेतर्फ जोड दिनुपर्ने बताउँदै कनेक्टिभिटीको पाटोलाई ध्यान दिन सुझाव राखे ।

आयोजक संघका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक गणेशराज पहारीले लेकसाइड क्षेत्रलाई साँझको समयमा स्थायी रुपमा उज्यालो बनाउन वडाले पहल अगाडि बढाउनुपर्ने र यसमा व्यवसायीको सहयोग रहने भनाई राखे ।

पार्किङ व्यवस्थित गर्न, डिजिटल बोर्डमा सांस्कृति कार्यक्रम देखाउन, होटलको प्याकेज ल्याउन, लेकसाइड झलमल पार्न, ठाउँठाउँमा सेल्फि बोर्ड राख्न, खानाको मूल्य र हाइजिनमा ध्यान दिन पनि सो अवसरमा सुझाव दिइएको छ ।

  • १७ चैत्र २०७९, शुक्रबार १६:२७ प्रकाशित