तनहुँ १ मा स्वर्णिम वाग्लेलाई रोक्न सानेपामा कांग्रेसको छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने तयारी गरेको छ । स्वर्णिमलाई उठाउने रास्वपाको तयारीसँगै कांग्रेसका दुई महामन्त्री उनलाई रोक्नलाई सक्रिय बनेका छन् ।

तनहुँ १ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले वाग्लेलाई उम्मेदवार बन्न प्रस्ताव गरेको सूचना बाहिरिएपछि दुई महामन्त्री उनलाई रोक्ने प्रयासमा छन् ।

सानेपामा अहिले कांग्रेस छलफल रहेको बताइएको छ । तनुहँसहित तीनवटै क्षेत्रमा आफुहरुले जित्ने दाबी स्वतन्त्रको छ । त्यसैले आगामी वैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग तालमेल नगर्ने बताएको छ।

सत्तारुढ गठबन्धनका तर्फबाट तालमेल प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेको रास्वपा स्रोतले बताएको छ। स्रोतका अनुसार गठबन्धनले रास्वपालाई बारा २ र तनहुँ १ छाड्ने शर्तमा चितवन २ मा रवि लामिछानेलाई सघाउने प्रस्ताव गरेको थियो । तर, रास्वपाले तीनवटै क्षेत्रमा पार्टी बलियो रहेको ठहर गर्दै प्रस्ताव अस्वीकार गरेको छ ।

  • १६ चैत्र २०७९, बिहीबार १५:५४ प्रकाशित