महिला ओलम्पिक फुटबलको छनोटमा नेपाल र भियतनामको खेल दशरथ रंगशालामा हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

महिला ओलम्पिक फुटबलको एशियाली छनोटको पहिलो चरणमा नेपाल र भियतनामबीचको खेल चैत २२ र २५ गते दशरथ रंगशालमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आज सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगितामा सहभागी हुन भियतनामको महिला टोली २० गते नेपाल आउने जानकारी दिएको छ ।

यो समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि थिए । तर उनीहरुले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीचमात्र प्रतिस्पर्धा हुन लागेको छ । यो समूहको विजेता टोली दोश्रो चरणमा पुग्ने छ ।

एशियाका ७ वटा समूहमा विभाजित टिमबाट समूह विजेता दोश्रो चरणमा पुग्ने छन् ।माथिल्लो वरीयताका उत्तरकोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया सिधै दोश्रो चरणमा पुगेका छन् ।

यी ५ टिमसहित ७ वटा समूहका विजेता गरी १२ टिमलाई दोश्रो चरणमा ३ समूहमा विभाजन गरिने छ ।ती समूहका विजेता र उत्कृष्ट उपविजेताबिच फेरि तेस्रो चरणको खेल हुने छ र एशियाबाट २ वटा महिला टिमले ओलम्पिक खेल्न पाउने छन् ।

  • १३ चैत्र २०७९, सोमबार १५:५२ प्रकाशित