म्याग्दीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

म्याग्दी ।

म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक-एक जना पुरुषको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार राति परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए । मराङको राम्चेदेखि बुल जाने क्रममा नामरुकको भिरको सडकको डिलबाट खसेर आइतबार दिउँसो जेवाङ टोलका अन्दाजी ५२ वर्षका सङबहादुर सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।

धारापानी सामुदायिक वनको पात्लापाखा भिरमा घाँस काट्न गएका धारापानीका ६८ वर्षीय लालु थापालाई सडक निर्माणका क्रममा डोजरले फालेको ढुङ्गाले लागेर शनिबार ज्यान गएको थियो ।

साँझ घर नआएपछि खोज्न गएका स्थानीयवासीले शनिबार राती थापालाई भिरमा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

  • १३ चैत्र २०७९, सोमबार १५:०० प्रकाशित