सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत दिन अस्वीकार गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले चैत १० गते उक्त आदेश गरेको हो । अन्तिम फैसलाका लागि सबै अंग पुगिसकेकाले फैसलाकै समयमा उक्त विषयको टुंगो लगाइने भनिएको छ ।

आदेशमा भनिएको छ, ‘मुद्दामा अंग पुगी पेशीको तारेख तोकिएको मिसिल संलग्न तारेख भर्पाइबाट देखिँदा प्रस्तुत मुद्दामा फैसला हुँदाको बखत कानूनबमोजिम हुने नै हुँदा हाल निवेदन मागबमोजिम क्षतिपूर्ति भराइदिनु पर्ने अवस्था देखिएन ।’

त्यसअघि पीडितलाई तत्काल राहत आवश्यक रहेको भन्दै सरकारी पक्षले निवेदन दिएको थियो । जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका सन्दीपलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

बलात्कारसम्बन्धी मुद्दामा दोषीलाई कैद सजाय र जरिवानाबाहेक पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने पनि व्यवस्था छ ।अन्तिम सुनुवाइका लागि जिल्ला अदालतमा सोमबार पेशी तोकिएको छ ।

  • १२ चैत्र २०७९, आईतवार १६:५४ प्रकाशित