काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि(सोमबार) सम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेसँगै कांग्रेसमा मन्त्री बन्नका लागि हानथाप भएको छ ।
पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएपछि सभापति शेरबहादुर देउवालाई आन्तरिक सन्तुलन मिलाउन हम्मेहम्मे परेको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ मन्त्रालय लिएर सहभागी हुने तयारीमा छ ।
कांग्रेसका सांसद मध्येबाट ८ जना छान्न देउवालाई सकस परेको हो । शेखर–गगन समूहले ३ मन्त्रालयको दाबी गरेको छ । कांग्रेसको शेखर – गगन समूहबाट उपसभापति धनराज गुरुङ मन्त्री बन्ने निश्चित जस्तै छ । यस्तै बद्री पाण्डे, जीवन परियार, तेजुलाल चौधरी, डिगबहादुर लिम्बु, सञ्जय गौतम लगायत पनि मन्त्री बन्न तीव्र लबिङमा छन् ।
संसदीय दलको निर्वाचनमा ६४ जना सांसदले देउवालाई साथ दिएका थिए । गगन थापा समूहको भनेर चिनिने सांसदले पनि मन्त्रीको बार्गेनिङमा संसदीय दलको नेतामा देउवालाई मत दिएको कांग्रेस वृत्तमा चर्चा थियो । आफ्नो पक्षमा ३२ जना सांसदको हिसाब गरेका थापाले २५ मत मात्र पाएका थिए ।













