पोखरा ।
नेपाली कांग्रेसले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको राजिनामा माग गरेको छ । नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट कांग्रेसले मुख्यमन्त्री अधिकारीको राजिनामा माग गरेको हो । गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार भेटघाट कार्यक्रम गरेरै मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरे ।
‘उनले अल्पमतमा परिसकेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए । ‘अल्पमतमा परेको र बहुमत जुटाउनेपनि सम्भवना नभएकाले जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिकरुपमा उपयुक्त हुन्छ । प्रदेशको हितमा हुन्छ’ उलने भने ।
अल्मतमा परेको सरकारले गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिक लगायतको दायित्व सिर्जना भए त्यसको दायित्व नयाँ सरकारले लिन बाध्य नहुने पनि पाण्डेले बताएका छन् । उनले दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न पनि अधिकारी नेतृत्वको सरकारलाई आग्रह गरेका छन् ।
गण्डकीमा कांग्रेस–माओवादीसहितका दलको गठबन्धनमा सरकार निर्माण हुँदा कांग्रेस संसदीय दलको नेताको हैसियतमा पाण्डे मुख्यमन्त्रीको प्रबल दाबेदार हुन् । उनले अब प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने पनि बताउँदै आएका छन् । यता माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले भने यस अघि कांग्रेसलाई आफूहरले समर्थन गरेकाले यसपाली सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने जिकिर गरेका छन् ।













