तीन मन्त्री र एक मुख्यमन्त्री पाउनुपर्ने माधव नेपालको दावी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन् । ‘संघमा तीन मन्त्रालय र प्रदेशको एक मन्त्रालय दावी गर्नेगरी पार्टीमा कुरा भएको हो । सोहीअुनसार अध्यक्षले प्रधानमन्त्रीसँगको आजको भेटमा कुरा राख्नुभएको छ’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो, ‘त्यसमा प्रधानमन्त्रीले कसरी मिलाउन सकिन्छ म मिलाउने प्रयास गर्छु भन्ने जवाफ दिनुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । त्यसका लागि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित गठबन्धनमा रहेका नेताहरुसँग एक्लाएक्लै भेटेर मन्त्रालय भागबण्डा र प्रदेश मुख्यमन्त्रीका बारेमा छलफल गरिरहेका छन् ।

सत्तारुढ दलको शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले भागबण्डाको ठोस प्रस्ताव पेस गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।

  • १० चैत्र २०७९, शुक्रबार १५:२४ प्रकाशित