पोखरा ।
फेवाताल किनारका पुराना डुंगा हटाइने भउको छ । ताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुंगाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको हो ।
फेवा डुंगा व्यवसायी संगठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुंगालाई डुंगाधनी र चालकको पहलमा निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । उनले भने, “जनगुनासो पनि आएको थियो, फेरी तालको सुन्दरता जोगाउनु र संरक्षण गर्नु हाम्रो पनि दायित्व हो, हामीले वैशाखभित्र यो समस्यालाई समाधान गर्ने गरी कार्य थालेका छौं, अब समस्या समाधान हुन्छ ।”
उनले फेवाताल धेरैको रोजीरोटीसँग जोडिएको र प्रमुख पर्यटकीयस्थल भएकाले पनि तालको सौन्दर्यमा ध्यान दिन आवश्यक रहेको बताए । उनका अनुसार अहिले पुराना डुंगा व्यवस्थापनका लागि दैनिक १०÷१२ जना डुंगा चालक र डुंगाधनीको सक्रियता रहेको छ । हालसम्म १५ डुंगा ताल भित्रबाट बाहिर निकाल्ने कार्य भएको छ ।
उनले तालमा प्लास्टिकका बोतल, चाउचाउका खोल लगायतका सामग्री नफाल्न र त्यसको व्यवस्थापनका लागि पनि काम भएको जानकारी दिए । योसँगै ताल पारी रानीवनको फेदमा विभिन्न फलफूलसहित अन्य बोटबिरुवा लगाएर ताल संरक्षण र सुन्दरतामा संगठनले काम गरेको पनि उनको भनाइ छ ।
स्थानीय डुंगा चालक एवम् संगठनका पूर्वअध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा सात सय ६७ डुंगा सञ्चालित छन् ।
पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुंगा व्यवस्थापनका लागि सम्बन्धित व्यवसायीबाट व्यवस्थापन सुरु भएको जानकारी दिए ।