लेखनाथ रंगशालामा बन्दै गरेको कभर्ड हल डेढ वर्षदेखि अलपत्र

केन्द्रभाग मिडिया

पोखरा ।

लेखनाथ रंगशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल निर्माण अलपत्र परेको छ ।पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कर्भडहल बजेट अभावका कारण डेढ वर्षदेखि अलपत्र परेको हो।

पोखरा रंगशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रंगशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश बनेका छन् ।

चालु आर्थिक वर्षमा कभर्ड हललाई कतैबाट पनि बजेट परेको छैन । पोखरा महानगरसहित संघ र प्रदेश सरकारबाट यतिबेला बजेट ल्याउन पहल भइरहेको निर्माण समितिका अध्यक्ष सुवास खड्काले बताए ।

अहिलेसम्म कभर्ड हलमा एक करोड १० लाख खर्च भइसकेको उनको भनाइ छ । आव २०७४/७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको ११ लाख बजेटबाट कभर्ड हलको निर्माण सुरु गरिएको थियो ।

त्यसयता राष्ट्रिय खेलकुद परिषदको ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट कभर्ड हलमा भूइँतलाको पिलर र गारो लगाउने काम भएको छ ।

  • ७ चैत्र २०७९, मंगलवार १६:१७ प्रकाशित