पास्नीको भोज खाएर फर्किँदै गरेको ट्याक्टर दुर्घटना : २ को ज्यान गयो, २८ घाइते

केन्द्रभाग मिडिया

धनगढी ।

कैलालीमा पास्नीको भोज खाएर फर्किदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् ।

सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो ।

जिल्लाको बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको ज्यान गएको र २८ जना घाइते भएका हुन् । मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

  • ७ चैत्र २०७९, मंगलवार ०८:४१ प्रकाशित